Your browser is out-of-date!

Update your browser to view this website correctly. Update my browser now

×

यू–१९ क्रिकेटका चार खेलाडी एमआरएफमा

29 Oct 2022

नेपाली यू–१९ का चार प्रभावशाली खेलाडी प्रेम तामाङ, दीपेन्द्र ऐरी, सौरभ खनाल र सुशील कँडेलले भारतको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षण लिने भएका छन् । एसियाली क्रिकेट परिषद् (एसीसी) को छात्रवृत्तिमा उनीहरूलाई विश्वकै प्रतिष्ठित एकेडेमीमा पठाउन लागिएको हो ।

एसीसीले सबै खाले प्रदर्शनका आधारमा प्रशिक्षणका लागि खेलाडी छनोट गरेको नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले बताइन् । नेपालले पछिल्लो दुई महिनामा मलेसियामा एसीसी यू–१९ प्रिमियर र आईसीसी यू–१९ विश्वकप छनोटमा खेल्दा यी चारै नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गरेका थिए । अघिल्लो हप्ता मलेसियामा छनोट प्रतियोगिता जितेर नेपाल बंगलादेशमा हुने यू–१९ विश्वकपमा छानिएको थियो । 

स्पिनर प्रेमले विश्वकप छनोटमा ११ विकेट लिएका थिए । प्रतियोगितामा उनी सर्वाधिक विकेट लिने सूचीमा दोस्रो स्थानमा थिए । उनले यू–१९ प्रिमियरमा ६ विकेट लिएका थिए । प्रिमियरमा सुशीलले ४४ ओभरमध्ये २१ मेडन फाल्दै ११ विकेट लिएका थिए । उनले विश्वकप छनोटमा ३ विकेट लिएका थिए । दीपेन्द्रले प्रिमियरमा ६ र विश्वकप छनोटमा ३ विकेट लिएका थिए । दीपेन्द्रले प्रिमियरमा १ सय १९ र सौरभले ९९ रन बनाएका थिए । विश्वकप छनोटको फाइनलमा सौरभले आयरल्यान्डविरुद्ध म्याच विजयी छक्का प्रहार गर्नुका साथै नटआउट १६ रन बनाएका थिए । 

घिमिरेका अनुसार खेलाडीहरू नोभेम्बर २५ मा चेन्नाईमा गई डिसेम्बर १६ मा काठमाडौं फर्किनेछन् । एमआरएफले मुख्यत: तीव्र बलरलाई विशेष प्रशिक्षण दिने गर्दछ । घिमिरेका अनुसार नेपाली खेलाडीलाई एसीसीले बलिङ मात्र नभई पूरै प्रशिक्षण दिन लागेको हो । उनले भनिन्, ‘भविष्यमा सिनियर टिम र युवा टिमबाट फास्ट बलरको प्रशिक्षणका लागि पठाउने योजना क्रिकेट संघको छ ।’

नोभेम्बरको दोस्रो साता इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट नेपाल भ्रमण आउनेछ । मेरिलेबोनसँग नेपाल यू–१९ टिमले पनि केही म्याच खेल्नेछ । त्यसमा केही खेल खेलेपछि नेपाली खेलाडीलाई भारत पठाउने योजना रहेको घिमिरले बताइन् । 

तत्कालीन मद्रास सहरमा एमआरएफ पेस फाउन्डेसनको स्थापना गरिएको थियो । अस्ट्रेलियाका महान् तीव्र बलर डेनिस लिली स्थापना देखि सन् २०१२ सम्म यसको प्रमुख रहेर कार्य गरेका थिए । जहाँबाट भारतका जभागल श्रीनाथ, मुनाफ पटेल, इरफान पठान, बैंकटेश प्रसाद, आरपी सिंह, जाहिर खानदेखि अस्ट्रेलियाका ग्लेन म्याक्ग्रा, ब्रेट ली, मिचेल जोन्सन, जिम्बावेका हेनरी ओलङ्गा, हिथ स्ट्रिक, श्रीलंकाका चामिन्दा भास खारिएका थिए । म्याक्ग्रा २०१२ यता एमआरएफका निर्देशक छन् ।

news source: ekantipur

Share