Your browser is out-of-date!

Update your browser to view this website correctly. Update my browser now

×

राखेपद्वारा यू–१९ क्रिकेटरलाई पुरस्कृत गर्न सिफारिस

29 Oct 2022

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यू–१९ क्रिकेट विश्वकपका लागि छनोट हुन सफल नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमलाई नगद पुरस्कारबाट पुरस्कृत गर्न बुधबार सिफारिस गरेको छ ।

१४ खेलाडीसहित १७ सदस्यीय टोलीलाई नगद पुरस्कारबाट पुरस्कृत गर्न युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी गराए ।

मलेसियामा अक्टोबर १३ देखि २३ तारिखसम्म भएको आईसीसी यू–१९ क्रिकेट विश्वकप छनोटमा नेपाल पहिलो हुँदै बंगलादेशमा जनवरी–फेब्रुअरीमा हुने यू–१९ क्रिकेट विश्वकपका लागि छनोट भएको थियो ।

खेलाडीमा कप्तान राजु रिजाल, उपकप्तान आरिफ शेख, सुनील धमला, सन्दीप सुनार, राजवीर सिंह, दीपेन्द्रसिंह ऐरी, सौरभ खनाल, प्रेम तामाङ, सुशील कँडेल, दीपेश श्रेष्ठ, ललितनारायण राजवंशी, कुशल भुर्तेल, शंकर राना तथा योगेन्द्र कार्की छन् । प्रशिक्षकमा जगत टमाटा, व्यवस्थापकमा धीरेन्द्र साउद र फिजियोमा दिनेश भट्ट छन् ।

खेलाडीलाई जनही २ लाख तथा प्रशिक्षक र फिजियोलाई १ लाखका दरले पुरस्कृत गर्न सिफारिस गरिएको सदस्य सचिव विष्टले जानकारी दिए । विगतमा सरकारले व्यवस्थापकलाई नगद सम्मान दिने गरे पनि यसपटक सिफारिस नै गरेको छैन । नेपाली टिमको व्यवस्थापकमा क्रिकेट संघका केन्द्रीय सदस्य साउद थिए ।

त्यस्तै, गत जून २८ तारिखमा फ्रान्समा भएको ८२ किलोमिटर दूरीको अल्ट्रा दौड प्रतियोगितामा पहिलो भएकी धाविका मीरा राईलाई पनि नगद पुरस्कार प्रदान गर्न बुधबारै सिफारिस गरिएको सदस्य सचिव विष्टले जनाएका छन् । मीरालाई सिफारिस गरिएको पुरस्कार राशि १ लाख रुपैयाँ छ ।

news source: ekantipur

Share